नेपाललाई विश्व सामु परिचित गराउने अनेक दृष्टान्त छन । ति मध्येको एक हो कला, संस्कार, संस्कृति, रहनसहन, लवाई खवाई,चाडपर्व एवम् धाम्रिक सद्भाव जसले नेपाललाई विश्वका सामुन्य एक छुट्टै उदाहरणिय राष्ट्रका रुपमा परिचित गराउछ ।कला, धर्म, संस्कार, संस्कृती, भेषभुषा, लुवाई खुवाई, रहनसहन,चाडपर्व र रितितिथिले सुसम्पन्न सातै वटा प्रदेश मध्ये यो लेखमा कर्णाली प्रदेश र यस प्रदेशको मूर्त अमूर्त पुरातात्विक सम्पदा,नाँचगान, जात्रा, भेषभुषा, भाषा, कला र सांस्कृतिलाई चिनाउनुकासाथै कर्णालीलाई नेपालमा मात्र नभई विश्व सामु कर्णालीको संस्कृती र सभ्याताको प्रवद्धन गरि, पर्यटन क्षेत्रको विकास तथा सांस्कृतिको संरक्षण गरि पर्यटन उद्योगको विस्तारबाट कर्णाली र सिङ्गगो देशलाई विदेशि मुद्रा आर्जन, देशमा रोजगारी सृजना, गरिवि न्युनिकरण गर्नमा टेवा पुग्न सक्ने र विकासका पुर्वाधार शिक्षा, स्वास्थ्य,सञ्चार,स्वच्छ खानेपानी र यातायात जस्ता कुरामा पछाडी पारिएको / परेको प्रदेशमा पर्यटन क्षेत्रको माध्यायमबाट कर्णाली प्रदेशको समावेशी तथा सन्तुलन बिकास हासिल गर्न र यहाँको जिबनस्तर उकास्न यथेष्ट योगदान पुग्न सक्ने सम्भावना बोकेको प्रदेश कर्णालीको उक्त पाटोलाई समावेश गर्न जोड दिईएको छ ।
बर्तमान नेपालको संविधानले निर्धारण गरेको कर्णाली प्रदेश अर्थात प्रदेश ६ को राजधानी विरेन्द्रनगर, सुर्खेत हो । हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, पश्चिम रुकुम, सुर्खेत र सल्यान गरि १० जिल्ला सम्मिलित छन । प्रदेश विभाजन गर्नु पुर्व ५ वटा जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्ला सम्मिलित भइ बनेको कर्णाली अञ्चलमा थप ५ वटा जिल्ला दैलेख, जाजरकोट,पश्चिम रुकुम, सुर्खेत र सल्यान गरि १० वटा जिल्ला मिलेर कर्णाली प्रदेश बनेको हो ।यहाँका प्रमुख जातजातीमा खस, मगर, थारू, राउटे, बादी र दलित (कामी, दमाई, सार्की, गाईने गन्धर्व, ओड, मुल आदि), प्रमुख भाषाभाषीमा नेपाली, खस, राजी, राउटे, मगर खाम, काईके, पाईके र ढुट), थारू, मुगाली कार्मारुङ, हुम्ली भोटे, प्रमुख पर्यटकिए गन्तव्यमा सेफोक्सुन्डो (सेफोक्सुम्डो), रारा ताल, नेपाली भाषा तथा सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा उपत्यका, कालीकोटको रास्कोट, पञ्चदेवल, नेपालको अग्लो मानिएको झरना पचाल झरना, सुन्दरताले भरिपुर्ण मानिएको धार्मिक आस्था बोकेको देवरा पाटन र त्रिवेणी पाटन, जाजरकोट जिल्लाको छेडागाडा नगरपालीका ८ घोगी पजारुमा रहेका चैत्य गुम्बा अर्थात प्राचीन देवल, खलङ्गाको जाजरकोट दरवार त्यस्तै गरि विश्व भरिका बौद्द तिर्थयात्रीहरू पुग्ने र मानसरोवरका लागी प्रमुख प्रबेशदार जुम्ला, नेपालको सर्वाधिक उचाईमा रहेका मानब बस्ती डोल्पा जिल्लाको छार्का भोट र ताराप गाउँ, मुगुको भोट, हुम्लाको लिमी र मुगुको करानक्षेत्र र मानसरोवर जाने प्राचिन पदमार्ग, दैलेखमा रहेको मनमोहक माहावुलेक,शीरस्थान, नामीस्थान, पादुका, कोटीला, धुलेश्वर र पानी माथि दीप ज्वाला वल्ने पाँचकोशी तिर्थस्थल, सुर्खेतको काक्रेविहार, देवतीबज्यै र बुलबुले, सल्यानको कुपिन्डे दह जस्ता कुराहरूले कर्णाली प्रदेशको कला, धर्म, संस्कार, सांस्कृती,रितीरिवाज, भेषभुषा, लवाई खुवाई,जिवनयापनलाई अध्यायन अनुसन्धान र अन्वेषण गर्ने समाजशास्त्रि,मानबशास्त्रि, बिद्रयार्थी, पर्यटक र यायावरलाई आकर्षण गर्ने प्रमुख गन्तब्यका रूपमा स्थापित हुन सक्ने सम्भावना बोकेको छ ।
यो प्रदेश धार्मीक आस्थाको केन्द्र हो । खास गरि हिन्दु, बौद्द र बोन धर्म प्राचिन समयदेखि नै मानिदै आएका धर्म हुन । हरेक धर्मले आ-आफ्नो सम्प्रदाय अनुसार आफ्नै किसिमका मूल्य र मान्यता बोकेका छन् । कर्णाली प्रदेशले यस्ता धर्मको संरक्षण गरि धार्मिक पर्यटनको विकास र विस्तार गर्न सके स्वदेश तथा बिदेशबाट खरबौ पैसा आर्जनगर्न सकिन्छ । धर्मलाई आधुनिक विज्ञान र अर्थ विज्ञानसंग जोड्न सके धार्मिक तिर्थस्थलको संरक्षणले पुरातात्विक र ऐतिहासिक सम्पदालाई जिवन्त राखी निरन्तरता दिन सकिने देखिन्छ । यस्तै स्कन्द पुराणको मानस खण्डमा वर्णन गरिए अनुसार भारतबाट कैलास मानसरोवर तिर्थयात्रा गर्न जाने बाटो बाकेको रुपैडियाबाट चिसापानी, सुर्खेत, दैलेखको घोडाबासबाट दुल्लु हुदै कालीकोटको मान्मा, मान्मा हदै नाग्म, जुम्लाको सिंजा, मुगुको गमगडीबाट बाम, हुम्लाको दार्मदेवली हुदै कमशः हासा (पुमा), पड़खा (राउदे), दुर्पा, (घट्टया), सिमकोट,योवनफया, केर्मी (सल्लिसल्ला, यालबाङ), यारि, हिल्सा, तिब्बतको ताक्लाकोट हुदै मानसरोवर र कैलास पर्वतलाई पदमार्गमा बिकास गर्न सकिने देखिन्छ । नेपालका सात प्रदेश मध्येको एक कर्णाली प्रदेशले अरू प्रदेशले em} फरक किसिमको इतिहास बोकेको कुरामा यस सम्बन्धि अध्ययन,अनुसन्धान र खोज गर्दै गरेका बिज्ञको खोजमुलक समाग्रीबाट प्रष्टपारिदै आएको छ । तर अफसोच जति यस विषयमा खोजिनु पने हो त्यो सम्भव भएको छैन, जसको कारण कर्णालीका दुरदराजसंग पुग्न भौगोलीक बिकटता र पुर्वाधारको विकास र विस्तार हुन नसक्नु हो । जति कुरा भेटिएका छन त्यही कुरालाई सरसर्ति अध्ययन गर्दा यहाँ बस्ने जातजाती, उनीहरूको भाषा, भेषभुषा र जनजिवनले पुस्तौ पस्ता देखि परम्परागत रुपमा निरंतरता अथवा हस्तान्तरण हुदै आएका चलनचल्तिले कर्णाली प्रदेश यस्ता पक्षले धनी छ भन्ने कुरामा विश्वास गर्न सकिने देखिन्छ । खसहरूको बाहुल्यता रहेको यस प्रदेशमा सामाजिक, सांस्कृतिक र राजनितिक प्रभाव पनि बलियो खसहरूमा नै देखिन्छ । खसहरूको बाहुल्यताले नै अरू जातजाती र सम्प्रदायमा उनीहरूको प्रभाव सामाजिक आचारणमा देखिन्छ । कुल देवता मस्टलाई मान्ने खसहरू ठाउँ अनुसार उनीहरुको देवता, पुजा बिधि, प्रबिधि, कर्तव्य, निषेध, लोक साहित्य, लोक विश्वास, भोजन, उपचार पद्धती, चाडवाड र पहिरन खसहरुमा नै फरक पाईन्छ । हिन्दु, बेद, पुराण र कर्मकाण्डमा उल्लेखित र निदृष्ठ आचारण पनि खसहरूको सांसकृतमा मिल्दैन । सिंजा सभ्यतामा नारायण अर्थात विष्णुलाई बोको बली दिने चलन छ तर हिन्दु धर्मसंग मेल खादैन । त्यस्तै गरि जंगलका राजा भनेर चिनिने राउटे जातीको आफ्नै छुट्टै सभ्यताको चिनारि छ ।
नेपाल पित्रिसत्तात्मक मुलुकका रूपमा चिनिन्छ । अहिले पनि समाजमा सामाजिक, सांस्कृतिक र राजनितिक दवदवाब महीलाको दाँजोमा पुरुषको नै बढि देखिन्छ तर कर्णालीको इतिहास र संस्कारलाई खोज्दै जाने हो भने त्यस्ता सम्प्रदाय पनि छन् जसले मातृसत्ताको झल्को दिने आधार चिनारी गराउदछन । हुम्ला र डोल्पा जिल्लाका हिमाली भेगमा अझ त तिब्बती मुलका परिवारमा बहुपती प्रथा (द्रौपदी) प्रचलीत छ । यस्तै बादी जातीहरूमा पनि एउटा महिलासित सबै दाजुभाइको दाम्पत्य हुने प्रथा पनि छ । यसमा धेरै बुझकिहरुले कलंक ठानेर त्यसलाई पश्चिमी आँखाले अथवा हिन्दु अतिबादीहरूका नजरले हेर्नु दुर्भाग्य हो भनेर कतिपय मानवशास्त्रि रसमाजशास्त्रिले आफ्नो विचार राख्दै आएका छन् । उनीहरू भन्छन, “नेपाल हिमालयले जोगाएको प्राचिन जिवनशैलीलाई आर्दश ढङ्गले जिउदोसंग्ग्रहलयका रूपमा संरक्षण गरि उक्त सम्प्रदायका आस्था, परम्परालाई जिवन्त राख्न र अझ अध्ययन अनुसन्धान गर्न मागनिर्देशन गर्छ।”थारू, ठकुरी, जुम्लाका अरू खसहरूले घर ज्वाई राख्ने चलन (सबै थारू, ठकुरी र जुम्लाका खसहरुमा लागु छैन) र मगर र ठकुरिहरुमा मामा चेली र फूपु चेला बिहे गर्ने चलनले पनि मातृसत्तात्मक समाजको झल्को देखाउछ ।
आफ्नै शैली, लय र भाषाले सुसुझीत यहाँको संस्कार र संस्कृतीलाई जिवन्त राख्ने लोकगाथा मध्येको एक हो; देवडा। कर्णाली र दुबै प्रदेशमा प्रचलित यो लोकालयले आफ्नो छुट्टै प्रभाव छोड्न सफल भएको छ । ठाउँ, स्थान र सम्प्रदाय अनुसार देवडा भित्र अनेकन लोकालय रहेको पाईन्छ । यसलाई गिते, नाच र खेले भनेर पनि परिभाषित गरिन्छ । एक्लै बसेर होस वा समुहमा पैतलाको चाल मिलाउदै,मनका विलौना पोख्नका लागि होस वा खुशि साट्नकै लागि होस र मेलापात, उकाली र ओराली गर्दा होस वा सबैतिर उतिकै प्रचलित र महत्व बोकेको छ । चिसो बताससंगै खुला आकाशमा कावा खादै गरेका चराहरू, स्वतन्त्र भइ आफ्नै तालमा बग्दै गरेका खोला खोल्सा, बटुवाको थकान मेटाउने चौतारी र डाडापाखा मग्नमुग्ध भइ सुन्छन । ठाडी भाका, हुड्क्यौली, धमारी, झोडा र देवडा खेल अनेकन नामले परिचित सुदुरपश्चिम यो लोकालयले कर्णालीको संस्कार र सांस्कृतीलाई आफ्नै तवरले परिचित गराउन सफल छ ।
भौगलिक विकटता छ…विकाशका गतिले पछाडि छ…गरिबी छ…भोकमरी छ… आधुनिक शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा छ।राजनितिक अस्थिरता र पुजीपतीको दलदलबाट थिचिएको छ… दुःख छ… पिडा छ… एक आपसमा वैमानास्यता छ…रिसराग छ, तर जब बगैंचामा विविध फुलले शोभा दिए जस्तै कला, संस्कार र सांस्कृतिले विविधता र विविधतामा एकता कर्णाली प्रदेशलाई हेर्ने नजर फेर्यो र यस प्रदेशको मूर्त अमूर्त पुरातात्विक सम्पदा, नाचगान, जात्रा, भेषभुषा, भाषा, कला र सांस्कृतिलाई स्वदेशमा मात्र नभई विश्व सामु कर्णालीको सांस्कृतीक र सभ्याताको प्रवद्धधन गरि पर्यटन क्षेत्रको विकास तथा सांस्कृति क्षेत्रको संरक्षण गरि यसै कुरालाई पर्यटन उद्योगको बिस्तारबाट कर्णाली र सिङ्गो देशलाई टेवा पुग्न सक्ने र विकासका पुर्वाधारका कुरामा पछाडी पारिएको/परेको प्रदेशमा पर्यटन क्षेत्रको माध्यायमबाट कर्णाली प्रदेशको समाबेशी तथा सन्तुलित विकास हासिल गर्न र यहाँका जिवनस्तर उकास्न यथेष्ट योगदान पुर्याउन सक्ने सम्भावना बोकेको प्रदेश कर्णालीलाई अगाडी बढाउन सरकार र सम्बन्धित निकाएको ध्यानाकर्षण हुनसके कर्णालीले अबको केही बर्षमा आफ्नो परिचय अवस्य बदल्ने छ ।
